हो रहेछ

हो रहेछ

दालको भाउ बढेको रहेछ
ढालको भाउ बढेको रहेछ
पसलको नाँउ बढेको रहेछ
बोटल को नाँउ बढेको रहेछ
थुप्रै शहर बढेको रहेछ
हो रहेछ

बजैको नाकको बुलाकी घटेको रहेछ
घरको नाती-नातिनी घटेको रहेछ।
तामाको गाग्री घटेको रहेछ
ममी को छाती घटेको रहेछ
मामाको माईजु घटेको रहेछ
हो रहेछ

अनाथालय बढेको रहेछ
बृद्वआश्रम बढेको रहेछ
पार्टी, नेता बढेको रहेछ
बोर्डिङ स्कुलमा बिद्यार्थी बढेको रहेछ
गाउँ मा थुप्रै स्कुल घटेको रहेछ
हो रहेछ

मन्दीरमा माईक बढेको रहेछ
पूजा क्यासेट प्लेयरले गर्दो रहेछ
भबिष्यबाणी कम्प्युटरले भन्दो रहेछ
पुजारी बेरोजगार भएको रहेछ
अरबको भान्से गोरु पकाउदो रहेछ
हो रहेछ।

बिकासे बाली बढेको रहेछ
एनजीओ बिकास बढेको रहेछ
गाउँ मान्छे मुक्त भएको रहेछ
बारी बाली मुक्त भएको रहेछ
गाई जोगाउ अभियान चलेको रहेछ
हो रहेछ

बाजेको पेन्शन बढेको रहेछ
बजैको टेन्शन बढेको रहेछ
छिमेककी घटेका रहेछ
सोसियल मिडिया बढेका रहेछन
लाहुरेको जडौरी घटेको रहेछ
हो रहेछ

जडौरी लगाएर
फाँट भरि हवल्दार जोत्दैनन
चौतारीमा सुबेदार तोसोरो समात्दैनन
ठुल्दाईहरु नाम्लो बुन्दैनन
गाउँ सुन्सान रहेछ
हो रहेछ।

 

-स्यानु पाईजा

पात्लेखेत-७ ,वाखेत म्याग्दी

Advertisements

चिन्ताको पुस्तान्तर

चिन्ताको पुस्तान्तर

गोठालो गोठको चिन्ता गर्दथे
किसान खेतको चिन्ता गर्दथे
मायालु हरु मायाको चिन्ता गर्दथे
लाहुरेहरु कहिले घरको चिन्ता गर्दथे
लाहुरेको कहिले हितैषीको चिन्ता गर्दथे
एउटा गीत जस्तै
गाईले घाँस खाईसक्यो
आएन चिट्ठी छ महिना भैसक्यो
अर्को गीत उस्तै–पाईना खबर
घर फर्कि आउनुहोस मेरो हजुर
—लाग्यो महिना जेठ
न चिठी नसल्लाह कहिले होला भेट
अचेल हामीलाई
न गोठको चिन्ता छ
न खेतको चिन्ता छ
न भेट को चिन्ता छ
न घरको चिन्ता छ
चिन्ता छ त पेट को चिन्ता छ।
एक पेट खाए पछि देशको चिन्ता छ
चिन्ता छ ….
खाने खानाको मिति नाघ्यो कि ?
अघिल्लो डेटिङले डेट नाघ्यो कि?
हाम्रो शिक्षा त्यति मै सिमित छ
डेट नाघेको खानु हुदैन
डेट नाघ्नु हुदेन
हाम्रो पर्खाई त्यति मै सिमित छ
चिन्ताले मानिसलाई छोड्दैन
आकाशबाणीमा अडियो सन्देश पठाउने
गोकर्णे लाहुरे दाईलाई उस्तै चिन्ता थियो
म बोलेको आमा बाबाले सुन्लान कि नसुन्लान
माईलौ ले रेडियो खोल्लान कि नखोल्लान
चिन्ता सबैलाई थियो
चिठी नआउने को चिन्ता अलग
चिठी पाउनेको कस्ले पढिदेला
चिठी पढिदिनेको चिन्ता अलग
अक्षर नजानेको चिन्ता पनि थियो
हेर्दा हेर्दै जमानाको काँचुली
मानिसहरु खुट्टाले पनि क लेख्न थाले
समाय र समायको आवश्यकता थियो
बुढेशकाल मा आफन्तले सास भेटदैनन कि
हरेक बाजे बजै र आमा बाबालाई चिन्ता थियो
लास लाई पनि कात्रो चिन्ता थियो
अचेल पनि कफन को चिन्ता छ
चिहान को चिन्ता छ।
चिन्ता कहाँ छैन
खाना को शुद्वतामा छ।
माया को पबित्रतामा छ
छ महिने चिठीहरु
छ सेकन्ड ढिलो भयो भने
कता बिजी हो ?
ईन्सट्यान्ट म्यासेजहरु
ईन्सट्यान्ट नुडल जस्तै
छिट्टै पाक्छ र राखे फुलिन्छ
हेलो डियर मा शुरु भएको सन्देश
रिप्लाई भएन भने
गो टु हेल मा दि एण्ड हुन्छ
याहु, जिटक, फेसबुक, स्काईप
विन्च्याट, ह्वाट्सअप, राउण्ड
भाईवर यति धेरै खाता पासवोर्ड भुलिने चिन्ता
आफैले लगाएको गफ
अर्को संग कुरा गर्दा पोल खोलिने चिन्ता
आफ्नैले जासुस गर्ने चिन्ता
अनलाईन सपिङको चिन्ता
अनलाईन डेटिङको चिन्ता
त्यति नै लामो छ लाईन
पासपोर्ट निकाल्ने ठाउँमा
त्यतिनै लामो लाईन छ
पानी भर्ने पँधेरोमा
त्यति नै लाईन छ
बिल तिर्ने कोप्चेरोमा
त्यति नै लाईन छ
सोसियल साईटहरुमा
यस्तै छ पुस्तान्तरमा चिन्ता
देश बिर्सेला कि भन्ने चिन्ता
एक पटक भेटेर अर्को पटक भेट्दा
फेश बिर्सेला कि भन्ने चिन्ता
पुस्तान्तर भएको चिन्ता

-स्यानु पाईजा पात्लेखेत-७ वाखेत, म्याग्दी

फेशबुक

फेशबुक

अहिले लाई यस्तै भनौ
गाउँले दाई को थेगो जस्तै
एउटा हिसाबले –
फेशबुक
तिमी र मलाई टाईपिङ सिकाउदैछ
तिमी र मलाई फाईटिङ सिकाउदैछ
उ र उनिलाई डाईटिङ सिकाउदैछ
कति लाई डेटिङ सिकाउदैछ।
सत्ते सत्ते राम राम नि
अर्को दाईको थेगो जस्तै
अहिले लाई यति बुझौ
एउटा कुराले –
फेशबुक
मलाई माग्नु सिकाउदैछ
तिमीलाई चोर्न सिकाउदैछ
हामीलाई ढाँट्न सिकाउदैछ
कमेन्ट र लाईक सोर्न सिकाउदैछ
साईलौ को थेगो जस्तै
कोले भन्थ्यो रा नै त्यस्तो
के होला त्यस्तो रा –
फेशबुक
चोरेको फोटो लुकाउने ठाउँ बनेको छ
वन्ली मि गरेका एलवमहरु
बिर्सेको गाउँ सम्झेर भाबुक बन्ने
निको भएको घाँउ बल्झाएर दुख्ने
तिमीले नलेखेको खाली पाना जस्तै
मैले नबुझेको आफ्नै कुरा जस्तै
लामो लामो पोस्ट बनेका छन
कान्छौ को थेगो जस्तै
मिन्टु मिन्टुमा-
फेशबुक
ईन्तु न चिन्तु ज्वँरोले
तातिन्छ र सेलाउछ
सितामोल नचिन्ने देशबासी
सितामोल नकिन्ने दातादातृ
अझै पनि ज्वँरोको उपचार खोजीमा छौ
सो घोषित कबि को कबिताहरु
सो घोषित बिज्ञ, ज्ञाताहरु
बजैको थेगो याद दिलाउछन
हैजाले खाने हरु ,कावाले लानेहरु
लाज न शरम लभ गरौ पो भन्छन
अहिले लाई यस्तै भनौ
गाउँले दाई को थेगो जस्तै
एउटा हिसाबले –
फेशबुक
हामी एक जुट हुदा के हुदैन
२ बाट सिएनएन हिरो
ईन्डिएन आईडल
डिआईडि लिटिल मास्टर
यहि बाट हो मा हो मिलाएका छौ
महाबीरको गौरब,बिमलको कौशलता
हामी एकै साथ गर्व गरेका छौ।
त्यसैले एउटा कुराले फेशबुक
कसैको थेगो नमिसाईकन
श्रीखण्ड र खुर्पाको बिड भएको छ।
फेशबुक… फेशबुक

 

-स्यानु पाईजा, पात्लेखेत-७ वाखेत म्याग्दी

कयौ सपनाको साक्षी

कयौ सपनाको साक्षी

समायका पाईलाहरु सारेर
सेता बनेका केशहरु
संयोग होईन आफै
कयौ सपनाको साक्षी बस्नु
तिमीले मात्रै बनमाराले
बनखाएको देखेको छौ
हामीले देखेको छौ
अबिजाले फैलिएको
अर्मेले, बन्सो ,रत्नाउलो
हनुमान झार फैलिएको
ठुलो आखले र सानो आखले
बनछिनिक फैलिएको
आएर हराएका झारहरु थिए
हराउछन चुप्पी चरी जस्तै
हराउछन जेउरे र लुबे जस्तै
कस्लाई सम्झना हुन्छ यहाँ
आफै साक्षी बसेको सपना बाहेक
अरु को सपना हराएको
सायद बजैले माटोको गाग्री
देखाएर औलोको गिठा पकाएको
सम्झना पनि हराएको हुनु पर्छ।
चिठ्ठी नपठाउने को के कुरा
चिठ्ठी आफै हराएको छ।
औसी को अध्यारोमा
कौशी हुनेको नाखै ठुलो
राँके बोक्सी जुनकेरी हराएको
मात्रै सबैलाई थाहा छ
आफै साक्षी बसेको आफ्नै
सपना हराएको

-स्यानु पाईजा, पात्लेखेत -७ वाखेत म्याग्दी

यहाँ प्रश्न यस्तै यस्तै

यहाँ प्रश्न यस्तै यस्तै

परिभाषा मा खुम्चिएको प्रेम
सम्वन्धमा खुम्चिएको बिबहा
जिम्मेवारीले बाँधेका रहरहरु
बाकसमा कपडा भित्र राखिएको कपुर जस्तै
खिईइ रहेको छ निरन्तर
जीवनको ढक तराजु ढल्किन्छ सधै
आबश्यकता तिर नै बढि
मन मिल्ने साथीहरु
सप्ताहन्तमा भेटिएर रित्ताएका महँगो बोटल जस्तै
बाँचिरहेका छन रित्तो जीवन
फगत…………………..
तनखा बनेका पसिनाहरु
बाध्यता बनेका सम्बन्धहरु
केहि चुस्की लगाएर सोच्दा
उस्ले भेटछ
तनखा
तलव
पेमेन्ट
पगर
हाँसो लाग्दो सत्य
तनखा – त नखा
त लब – त माया
पेमेन्ट – पेमेन्ट पाए पछि क्रेडिट तिर
पगर- समात (एक छिन)
मात्रै तलव मा खुम्चिएको जीवन
सप्ताहन्तको साँझ मा खुम्चिन्छ
पिए पछि साथी गायक बन्छ
गाउँ छ बनपाखाको गाउँलेभाका
अरुबेला लाज माने पनि ढक नमानी
लेखक बन्छ र लेख्छ देशभक्तिका कुरा
देशको सिमाना खुम्चिएको छ।
यहि फरक भेटेको छु मैले
देश भित्र पिएका मान्छेहरु
पिए पछि अँग्रेजी बोल्न सुरु गर्छन
अर्को ले हिन्दीमा जवाफ फर्काउछ
हिब्रु, अरबी, कोरियन, जापानी, मले
कक्टेल भाषा का कक्टेल झगडा
कक्टेल गालीहरु
बिदेश भित्र पिएका मान्छेहरु
कोहि लोक गीत गाँउछन
कोहि नाँच्न सुरु गर्छन।
राम्रो सरकार बनेन भन्छन
भोट नै नहालेका मानिसहरु
देश बिग्रिएको देख्छन
युट्युव मा देश खोज्नेहरु
पुरुस्कार जित्न लेखेका कितावहरुमा
भेटिएको देश
निद्रा नलाग्दा लेखिएका कबिताहरुमा
भेटिएको देश
भोट माग्दा लेखिएका घोषणा पत्रहरु जस्तै
आफैले आफै बोलेको झुट बन्छ
यहाँ प्रश्न यस्तै यस्तै
लम्बिन्छ हरेक रात निद्रा नपर्दा सम्म

स्यानु पाईजा – पात्लेखेत-७, वाखेत म्याग्दी

साल्दिई ज्यु एक ट्वाक चढाउ कि ?- उपेन्द्र सुब्बा

उपेन्द्र सुब्बाको कविता
(साहित्य महोत्सवको अन्तिम दिन बाचन भएको कबिता)

साल्दिई ज्यु एक ट्वाक चढाउ कि ?

रक्सी र मायालु छुटे पछि झन तिर्सना
कसो बाटो भुलेर फेरी
म यहा भट्टी छेउ आईपुगे
अव म सिधा वा बाङगो गरि
जस्तो गरेर यहाँ आई पुगे पछि
नआउनु थियो भित्र आईपुगे पछि
एक ट्वाक चढाउ कि
अस्ती पोहरै देखि छोडौ त भनेको
खै परार पनि त्यसै भनियो र
रक्सी को बदनाम मात्रै गरियो
यो साल त मलाई पनि खुवै लाज भाथ्यो
र त आजकल सर्माउदै पिउछु
कहिले कहि त नपिउन भन्छु
साथी भाई तर्सन्दै रिसाउछन
छेउ मा बिन मात्रै फर्काएर
यो त अव बिग्रियो पो भन्छन
यो महान यात्रा कहिले कहाँ बाट सुरु भयो
एकिन साल संमबत थाहा नभए पनि
पर पर सम्झि लेउदा चित्रो घारी देखि सिरुबारी सम्म
धुलमुल धुलमुल धमिलो सम्झना आउछ
बेसरी मुटु दुखेकै नै हो अमिलो सम्झना आउछ
यति मात्र सम्झना छ
हेर्दा हेर्दै झ्याप्प घाम निभेको हो
म घाम पर्खेर बर्षौ सुतेको हो
अचेत अबस्था मा मेरो आमाले बुढासुब्बालाई
एक बोटल रक्सी चढाउनु भएछ र पो म बिउझेको
म बिउझिदा घाम फेरि अस्ताउन लागेको थियो
छोडेउ यस्तो झ्याउ कुरा-
साल्दिई ज्यु अर्को एक ट्वाक थपौ
खाउ भन्छन कोहि आफन्त भन्छन – खानै पर्यो
नखाउ ओई भन्छन आफ्नो मान्छे ‍- भोलि देखि खान्न भन्नै पर्यो
यसरी दोहोरो बाँच्दा दुबै थरि आफन्तको मन राखिदिदा भन्दा
आफ्नै मन को ढाँटिन्दो रहेछ, आफ्नै मन छलिने रहेछ।
तर नाथे मनलाई के छ र
कुनै रुखको ठुटो मा थपक्क राखे नि भो
चकमक झुला सँगै बट्टामा कचाक कुचुक पारेनि भो
यो मन पनि मनै जस्तो आजित भा छ
जित्ने उत्साह हराए पछि हार्न त सजिलो पो र छ
हिजो मात्रै रक्सी भोलि रक्सी छोड्ने शर्तमा रक्सी नै पिए
आखिर आज अन्तिम नै हो भनि बेसरि पिए
आज कसो बाटो भुलेर फेरि यहाँ भट्टी छेउ आई पुगे
नआउनु थियो आईसकेर भित्र आईसके पछि
नपिउनु थियो पिईसकेर यति मातिई सके पछि
साल्दिई ज्यु अन्तिम एक ट्वाक थपौ कि।

(धेरै पहिला सम्दे शेर्पा को कमेडी याद आयो) धन्यबाद कबि ज्युलाई
http://youtu.be/h7mKfzQDH_w

कालो झण्डाको नर्शरी

कालो झण्डाको नर्शरी

किसान हरुको बारी बाट
तिमीले उखलेर ओईलाएका बेर्नाहरु
तारबारी बाझै बस्यो बेर्ना सरेन
ओईलायो तिम्रो अलिसान भवनको छहारीमा
खेतहरुमा धान फल्न छाडे
स्कुलहरुमा ज्ञान सिप सिकाईन छाडिए
मुसाले खनेका आलीको दुलो बाट
चुहियो आकास को पानी।
बन्जर भयो धान फल्ने खेतहरु
बाँझो खेतको मालिकहरु
जोतिरहेका छन मरुभुमी अरुका
बोर्डिङ स्कुलमा शिक्षा फलाउनलाई
बसाई सरेका छन डेरामा रोग निम्ट्याउनलाई
कमलपित्त, मधुमेह, अलसर र रक्तअलपत्ता
सपना त्यहि थियो सिपाही बाजेको
नाती पढेर क्याप्टेन बनोस
सपना त्यही थियो मास्तर बाजेको
पढेर नाती टप मान्छे बनोस
तर दुबै बाजेको सपना भएको छ
बाल्टिकरेशा मा उब्जाएका बाली जस्तो
तिप्यो करेशा खाली, राख्यो पेटखाली
घडेरी बनेका धानखेतहरुमा
सार्न ठिक्क पारिएको कालो झण्डा को नर्शरी
यहाँ कालो झण्डाहरु रोपिन्छ।
तिमीले बन्जर बनाएका खेतहरुमा
मात्रै कालो झण्डा फस्ताउछ
तिमीले मैले र सबैले यहि झण्डा उब्जाउनु पर्छ
यहि झण्डाको ब्रेकफास्ट, लन्च, डिनर गर्नु पर्छ
साईज साईज को कालो झण्डाहरु
हो यो हाम्रै आधुनिक समाज हो
जहाँ कसै न कसैलाई कालोमोसो दलिन्छ
जहाँ आफ्नो घर सफा पार्न
बाग्मती फोहर पार्नु पर्दछ।
यो हाईब्रिड जातको कालो झण्डा हो
एउटा ले असी गोटा फल्छ
हो तिमीले बन्जर बनाएका भुमीमा
मात्रे यहि कालो झण्डा उब्जिन्छ
रोपिएका छन नर्शरीमा कालो झण्डाहरु
अभाव, बिभेद,असमानता, नाताबाद, भ्रष्टचार
यति धेरै दुलो खनेका छौ धानफल्ने खेतको आलीमा
त्यसैले यहाँ मात्रै कालो झण्डा उब्जिन्छ।
कहि कतै बगाले कालुङगे च्याउ उम्रे जस्तै
तिमीले मैले र सबैले यहि झण्डा उब्जाउनु पर्छ
यहि झण्डाको ब्रेकफास्ट, लन्च, डिनर गर्नु पर्छ
यहाँ एकदिन सबैको मृत्यु कालो हुन्छ
अनुहारमा कालो दलेर कालो मलामी जानु पर्छ।
कालो लुगा अडेर कालो बरखी बार्नु पर्छ
चाख्ने पर्छ आफैले कालो नर्शरीको कालो झण्डा!

-Sayanu Paija , Pathlekhet-7, Wakhet Myagdi