मिस्रित बाली

मिश्रित खेतीबाट दोहोरो फाइदा

 इलाम, मंसिर १२ (इपोस)–यतिबेला इलाममा सुन्तलाको सिजन शुरू भएको छ । सुन्तलासँगै अर्को नयाँ खेती किवी फल पनि पाक्ने सिजन यही हो । फलफूलबाट मनग्ये आन्दानी लिने धेरै किसानहरुले त्यही सुन्तला बारी र किवी बारीभित्र अलैंची लगाएर आम्दानीको अर्को स्रोत थप्दैछन् ।
जिल्लाका अलि उच्च भागमा किवी फस्टाउँदा त्यहीं अलैंची पनि राम्ररी फस्टाएको देख्न पाइन्छ भने अलि न्यायो भागमा लटरम्म सुन्तला फलेको बगानभित्र उसरी नै अलैंची फस्टाएको छ । ‘मकै लगाएको भए १० डोको पनि फल्ने थिएन । त्यति नै बारीमा १०÷१२ बोट किवी छ । त्यसभित्र अलैंची पनि उसरी नै फस्टायो यो साँच्चै अपत्यारिलो छ’–सुलुबुङ्गका किसान भोला खतिवडाले अलैंची देखाउँदै भने–‘तीन लाख रुपैयाँ जतिको किवी हुन्छ होला । अहिले बिक्री गरेको छैन । यो वर्षबाट अलैंची पनि फल्न थालेको छ ।’
किवीलाई आवश्यक मल र पानीको उचित प्रबन्ध मिलाउँदा त्यसैमा अलैंची पनि राम्रो हुँदै गएको खतिवडा बताउँछन् । ‘एक पटक यो सबै अलैंची बगान थियो । सबै मासियो अहिलेबाट पुनः अलैंची फस्टाएको छ’–उनले भने–‘नयाँ माटो र हेरचाह, मलजलको राम्रो प्रबन्ध गर्दा दोहोरो आम्दानी हुने रहेछ ।’ सुलुबुङ्गका यी किसानको जस्तै इलाम नगरपलिका–७ का जीवन सुवेदीले पनि सुन्तला बगानभित्र राम्ररी अलैंची फलाएका छन् ।     चार रोपनी जमिनमा सुन्तला र त्यसभित्र अलैंची लगाएका सुवेदीले गत वर्ष ५५ किलो अलैंची फलाएको बताए ।
‘मल, पानी, गाइको गहुँत सबै मिलाएर अलैंचीलाई लगाउँदा उत्पादन राम्रो हुने रहेछ’–सुवेदी भन्छन्–‘यो वर्ष ३ मनभन्दा बढी अलैंची उत्पादन हुन्छ भन्ने अपेक्षा छ । सुन्तलाबाट पनि उत्पादन राम्रो भएको छ ।’ यो वर्ष पनि २०÷२५ बोट अलैंचीको विरुवा थपेका सुवेदीले सुन्तलामा भने बोटै सुक्ने रोग देखापरेपछि समस्या परेको बताउँछन् ।
यता अलैंचीलाई भने यतिबेला गोडमेलको ठिक्क सिजन शुरु भएको जिर्मलेका किसान गोविन्द पौडेल बताउँछन् । नयाँ जात अर्थात सलकपुरे जातको अलैंचीमा यतिबेला फूल लाग्न कोथा बस्ने र अत्यधिक टुसा आउने भएकाले त्यसको छाँटकाँट मिलाउनु यो अलैंचीको नयाँ विशेषता नै भएको पौडेलको भनाइ छ । ‘किसानले पुनः अलैंची खेती शुरु गरेका छन् तर, कुन समयमा के गर्ने भन्ने मुख्य कुरा नजान्दा उत्पादन लिन सकेका छैनन्’–उनले भने–‘भदौमा फल टिपिसकेपछि मल लगाइन्छ र अहिले मंसिर–पुसमा कोथा र टुसा धेरै हुन्छ त्यसलाई दुई इञ्चको फरक पारेर काँटछाँट गर्दा मनग्य आम्दानी हुने रहेछ ।’ अलैंचीलाई राम्ररी स्याहार गर्न सक्दा एक रोपनीमा दुईदेखि अढाइ मन उत्पादन भएको पौडेलले बताए ।
जिर्मलेकै सलकपुरमा पनि २०४५ सालमा भित्र्याइएको नयाँ जात अर्थात सलकपुरे जातको अलैंची र सुन्तलाको दोहोरो खेती अधिकांश किसानले गरेका छन् । यो वर्ष त्यति सुन्तला नफले पनि यो वर्ष सलकपुरबाट एक हजार मन अलैंची उत्पादन भएको किसानको भनाइ छ । ४० जिल्लामा विस्तार भइसकेको यो अलैंचीबाट पछिल्लो समयमा उत्पादन राम्रो हुँदा किसानको आकर्षण पनि बढ्दो रहेको सलकपुरका अर्का किसान याम अधिकारी बताउँछन् ।  यो वर्ष अलैंचीको मूल्य पनि आशाजनक भएकाले अलैंचीप्रति किसान उत्साहित देखिएका हुन् । शुरुमा एक लाख ४० हजार रुपैयाँ प्रतिमनसम्म पुगेको अलैंची भारतीया नाकामा भएको अवरोध र तराई आन्दोलनका कारण अहिले घटेर ८० देखि ८२ हजार रुपैयाँ प्रतिमन रहेको व्यापारी बताउँछन् ।
विश्वका अलैंची उत्पादक तीन मुलुकमध्ये नेपाल अग्रस्थानमा रहँदै आएको मानिन्छ भने नेपालको एक हजार सात सय ६० हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । फिक्कलमा रहेको अलैंची विकास केन्द्रले पनि यो वर्ष पाँच लाख विरुवा वितरण गरेको जनाएको छ ।
मसलाजन्य बालीका रुपमा रहेको अलैंची भारत निकासी हुन्छ भने समुद्रपारी पनि माग बढी रहेको जानकारहरु बताउँछन् । राम्रो मूल्य दिने भएपछि जिल्लाका अधिकांश किसानले अहिले खाद्यान्न र अन्य नगदेबाली अदुवा, आलु मासेर अलैंची लगाउन थालेका छन् । अलैंचीलाई थप मलजल गर्न नपर्ने गरी अलैंची र अन्य बालीको मिश्रित खेती समेत गरिरहेका छन् ।

मिश्रित बाली लगाउँदै किसान

इलाम, कातिक ३० (इपोस)–इलाम सुलुबुङका युवा कृषक गोपाल खतिवडाले चिया र अलैंची जस्ता बहुमूल्य नगदेबाली लगाएको बगानभित्र किवी फल फलाएर मिश्रित खेतीको अभियान चलाएका छन् ।
चिया, अलैंची मात्र नभएर किवीका बोटमुनि ग्राउण्ड एप्पल (भूईं स्याउ), पपिनो मेलन, पाउलोनिया, अनार र जापानीज सुन्तला समेत फलाएका छन् । सात किसिमको मिश्रित बालीबाट वर्षेनि मनग्ये आम्दानी लिन उनी सफल भएका छन् । मिश्रित खेतीमा एक बालीबाट अर्को बालीलाई पर्याप्त छहारी र चिस्यान उपलव्ध हुने उनी बताउँछन् । यसपालिको किवी फल विक्रीबाट मात्र करीब पाँच लाख आम्दानी हुने उनी बताउँछन् ।
करीब सात रोपनी जग्गामा लगाइएको किवी फल, अलैंची र चियाबाट पनि चार लाख भन्दा बढी आम्दानी हुने अपेक्षा रहेको उनले सुनाए । थोरै जमिनमा मिश्रित खेती प्रणालीमार्फत धेरै आम्दानी लिन सकिने र सिचाई व्यवस्थापन पनि सजिलै गर्न सकिने उनको भनाई छ । सुलुबुङका किसानले विगत पाँच वर्ष अगाडिदेखि व्यवसायिक रूपमा किवी खेती गर्दै आएका छन् । नयाँ किवीका विरूवा लगाउन जमिन उपलव्ध नभए पनि पूरानो चिया बगान वा अलैंची बगानमा पनि लगाउन सकिने र त्यसका बीचमा अन्य फलफूल र ग्राउण्ड एप्पल समेत फलाउन सकिने खतिवडाको अनुभव छ ।
लटरम्म फलेको किवी फलको बोटमुनि चिया र अलैंची समेत टिप्ने रहर भएका किसानलाई यहाँका किसानको परिश्रमले लोभ्याउने गरेको छ । प्राङ्गारिक खेती अवलम्बन गरेका किसानले यस्तो उत्पादनबाट बढी मूल्य पाउने गरेका छन् । अलैंची, किवी, ग्राउण्ड एप्ल र अर्थोडक्स चिया मूल्यवान नगदेबाली मानिन्छन् ।
उनको मिश्रित बाली हेर्न जिल्लाका विभिन्न गाविस तथा बाहिरी जिल्लाका कृषक समेत आउने गरेका छन् । थोरै जग्गा र कम लगानीमै धेरै आम्दानी हुने भएकाले किसानका लागि मिश्रित बाली प्रणाली प्रभावकारी हुने अगुवा कृषक तारामणि खतिवडा बताउँछन् ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s