सम्झनाको स्पर्शः वाखेत मा मकै खेती

जमानाको कुरा
सम्झनाको स्पर्शः वाखेत मा मकै खेती
(आजको बल्गमा हाम्रो गाउँमा पहिले प्रचलनमा रहेको चक्र-खेती प्रणाली र मकैको सम्झना छ)

बाजे बजै को पाला देखि को बिउ थिए। नाम पनि बाजे बजैले नै राखेका ठुलो मकै – पहेलो, सेतो , सानो मकै पहेलो , सेतो, केटाकेटी(केराटी) मकै गाउँ आसपासका बारीमा ठुलो, सेतो र पहेलो मकै को खेती गरिन्थे भने धानखेत र अलि माथी तिर छिटो पाक्ने सानो मकै रोपिन्थे। ठुलो मकै र सानो मकै मा फरक दाना र पाक्ने समायमा थियो। ठुलो मकै धेरै उत्पादन हुन्थे भने पाक्न सानो मकै भन्दा २०-२५ दिन बढि समाय लाग्दथ्यो। धानखेत मा धानरोप्न ढिलो हुने हुनाले सानो मकै रोपिन्थे। भने लेक मा जौ, गँहु रोप्न ढिलो हुने हुनाले सानो मकै रोपिन्थे।

केटाकेटी र दाँत कम्जोर हुने हरुको लागी खाजा को लागी प्रयोग गरिने फूलीमकै (केटा-केटी मकै, केराटी मकै) ठुलो र सानो मकैको तुलनामा सानो घोगा र दाना का हुन्थे।

परम्परागत चक्र-प्रणाली खेती।

एउटै कारणले मासिएका छैनन यि राम्रो मानिएका यि रैथाने बिउ हरु यसका पछाडी बिभिन्न कारण हरु छन। हामीले परम्परागत खेतीलाई जति नै पुरानो जमानाको मानिए पनि यि बालीहरुमा प्रयोग भएको चक्र प्रणाली एकदमै उत्तम थियो। परम्परागत बिउ मासिनु मा चक्र प्रणाली मासिनु मुख्यकारण थियो।

त्यो बेला गाउँखोर, भित्रीखोर र बाहिरी खोर गरेर तिन किसिमका बारीहरु बनाईएका हुन्थे। गाउँखोर र भित्रि खोर मा चक्रप्रणाली र बाहिरी खोर मा बर्षको १ बाली प्रणाली अपनाईएको हुन्थे। गाउँखोर मा मकै भित्र भटमास र कोदो घुसुवा बाली को रुपमा लगाईन्थे। मकै भित्र भटमास लगायो भने त्यो ठाउँ मा औवा(गँहु) जस्तै दाना तर जौ जस्तै बोट देखिने बाली (जस्को नाम बाट नै हाम्रो गाउँ को नाम बसेको छ। (उवा, औवा,ऊवा हुदै अहिले वा तलथोप्ला + खेत, अहिले वाखेत) लगाईन्थे। कोेदो रोपेको ठाउँ मा गँहु खेती गरिन्थे। यो बारीमा औवा रोपेको ठाउँ मा ठुलो मकै र गँहु रोपेको ठाउँ मा सानो मकै रोपिन्थे। भटमास कोदो भन्दा छिटो पाक्ने हुनाले छिटो औवा रोपिने र गँहु अलि छिलो पाक्ने हुनाले सानो मकै छिटो पाक्न को लागी सानो मकै रोपिने गरिन्थे। ठुलो मकै र सानो मकैमा दाना र बोट फरक हुन्थे। ठुलो मकै को बोट अग्ला र दाना पनि तुलनात्मक रुपमा साना मकै को भन्दा ठुला हुन्थे। भित्री खोर मा मकै भित्र कोदो छरिन्थे भने बाहिरि खोरमा मकै भित्र नै फापर छरिन्थे। परिवार को जरुरत हेरेर कतिमा मकै-कोदो, कतिमा मकै फापर रोप्ने परिवारिक निर्णय हुन्थ्यो त्यसै अनुसारको खेती हुन्थे। यि बारीहरुलाई भित्रिखोर भनिनु को कारण यस्ता बारी बरिपरि आफ्नै सुरक्षा पर्खाल हुन्थे। गाउँ खोर मा गाउँलेको बारी एउटै बाहिरी पर्खाल भित्र हुन्थे। बाहिरी खोर भन्नाले यस्ता खोरहरु अरुको बाली सँग नजोडिएर बन को बिच बिच मा हुन्थे। मोटेखर्क, दानाखर्क, ढिउदाना, फड्के, टिटर्नी जस्ता खोरहरु बहिरीखोर हुन। यस्तो खोरमा चैते मकै र कोदो, आलु, पिडालु, मुला को खेती गरिन्थे। बाहिरि खोरमा कोदो हरेक ३ बर्ष मा एक पटक कोदो मात्रै छरुवा लगाउथे। जस्लाई दाँतेले जोतेर गोडिन्थे। गोड्नु लाई नै दाँते लगाउनु भनिन्थे। यस्को अलगै फाईदा थियो। बाहरी खोर हरु धैरै पहिले देखि प्रचलनमा भएका खोरिया हरु हुनाले यि खोरियाहरुको माटो को उत्पादन शक्ती ह्रास आईसकेको हुन्थे। यसरी कोदो मात्रै लगाउदा कोदो को जराले माटोमा भएका तत्वहरु लिईन्थे र मकै बाली को लागी चाहिने माटो को गुण को मात्रा मिलाउदथे। त्यो जमानामा अहिले जस्तो माटो को पिएच नापेर खेती गर्ने या मल थपेर अम्लिय या क्षारिय बनाउने प्रबिधि नभए पनि कुन कुन बाली लगायो भने माटो को सन्तुलन मिल्छ त्यो जानेका थिए। मकै भित्र भटमास, मकै भित्र कोदो रोपिनु को कारण पनि त्यहि सन्तुलन को प्रयोग थियो। हेर्दा दोहोरो खेती जस्तो देखिए पनि भित्रि अर्थ दोहोरो खेती मात्रै नभएर माटो को सन्तुलन मिलाउन र बिउहरु को जगेर्ना गर्न थियो। साथै बाली पाक्ने अन्तर मिलाउन पनि थियो। यहि मिलाएर गरिएको खेतिको कारण नै जमिनहरु बाँझो बस्दैनथे र पुर्वराशक्ती पनि कम्जोर हुदैन्थे परिणाम त्यो बेलाको किसानहरु आत्मनिर्भर थिए। धान खेत मा घुसुवा बारिको रुपमा धान र आलीमा भट्मास, मास र सानो गोरु नलाग्ने सुर्कामा गहुत, बोडी रोप्दथे जस्ले दाल भात सबैको जरुरत पुरा गर्दथे।

चक्र प्रणाली ले मानिसलाई बालि लिने समायको अन्तर मिलाउने हुनाले एकै पटक बढि काम हुदैन थे।मकै खेती भित्र रोपेको भट्टमास निकालेर औवा छर्ने र मकै भित्र रोपेको कोदो काटेर गँहु छर्ने बिचको समाय ठ्याक्कै एक पछि अर्को हुन्थे। गहुँ, जौ, औवा खेति भित्र छरिएका, स्थानिय र भोटे (ठूलो) केराउले मानिसको खाना मा सन्तुलन मिलाउथे। तरकारी र खाना एकै समायमा कै ठाउँ मा उत्पादन भैरहेका हुन्थे। मानिसलाई मात्रै होईन चक्र प्रणालीले चौपायालाई पनि हरियो घाँस सन्तुलन मिलाएको थियो। अनि प्रयोग पनि त्यस्तै किसिमको हुन्थे। बाहिरी खोरमा एक बाली लगाउने हुनाले हिउद को दिनमा ति खोरियाहरुमा चौपायाहरु को गोठ बस्दथे। र खुल्ला छरेका कोदो का नलहरु उनिहरुको हिउद भरिका खाना बन्दथे।धनसार को चलन नआउदै सम्म नलहरु रुखमा मचान बनाएर राखिन्थे । या गाई बस्तु छिर्न नसक्ने ठाउँ मा जम्मा गरेर राख्दथे। मानिसको काम देखि खाना सम्म को ब्यालेन्स चक्रिय बाली प्रणालीले बनाएको थियो। यो भन्दा ठुलो यस्ले सामाजिक एकता पनि कायम गरेको थियो। उस्तै प्रकृतिको बाली सबैको हुनाले आज एक जनाको भोली अर्को जनाको अर्म-पर्म हुने हुनाले छिमेकी बिचको सम्बन्ध सहयोगी र सन्तुलित हुन्थे।

यसरी गरिएका खेती मा खाना पुरै आत्मनिर्भर थियो। धान खेतको आलीमा रोपेका भट्टमाास, मास, गहुत जस्ता बालीहरुले भात र दाल एकसाथ उत्पादन भैरहेका हुन्थे। त्यस्तै पाखाबारीमा हुने खेतीमा मकै भित्र कोदो, लट्टे, काँक्रो, फर्सी र फिलिङगे तोरी र बारी गोडमेल गर्दा थुपारेको झारको थुप्रोको मलमा लगाएका सिलाम, फापर र पाकसाई ले तरकारी र खाना दुबैको सन्तुलन मिलाई रहेका हुन्थे। त्यसै गरि हुने गहुँ, जौ, औवा खेति भित्र घुसुवा बालीको रुपमा लगाएका केराउ, बारीको कुनामा आफै उम्रिने, अर्मले, कुटुलिकोसा का आकुरा, काल्ला र दिलमा उम्रेका सिस्नुहरुले तरकारीको रुपमा सन्तुलन मिलाई रहेका हुन्थे।

कसरी मासियो चक्र प्रणाली वाखेत मा ?

२०४६/४७ मा मार्फा रायो कम्पनी को बिउ उत्पादन प्रोजेक्ट वाखेत मा आयो। यो भन्दा पहिले पर्वत को सालिजा, ओखरे्नी तिर यो प्रोजेक्ट थियो। तुलनात्मक रुपमा सहज र आम्दानी बढि हुने हुनाले गाउँका केहि समुह रायो खेती तर्फ आकर्षित भए। त्यस पछि यहा को भित्री खोरहरु मा रायो खेती हुन थाले। मकै बाली तैयार भए पछि को जमिन जोतेर रायो खेती गर्दा, भट्टमास खेती प्रभाबित भयो र औवा,जौ, गँहु जस्ता बालीहरु पशुलाई घाँस हुन्छ भनेर सिमित ठाउँ मा मात्रै गरिन थाले यस्ले मकै उत्पादन र सानो मके र ठुलो मकै बिउ को बचाउ गर्न सकेन। फेरि खोर हरु एक ठाउँ मा मात्रै हुने हरुले रायो खेती पनि हरेक एकै ठाउँ मा दोहराउन थाले र मकै को बिउ पनि ठुलो र सानो को मिक्सको बन्यो। बोट अग्लो हुने खालको भयो मकै हरु। पहिले आख्ला गनेर ५ आख्लामा लागेको घोगा को बिउ र बोट राम्रो मानिने गाउँलेहरुको मकैले सात आख्ला भन्दा तल घोगा दिन नै छाड्यो। मानौ त ठुलो मकै र सानो मकै को बिचको क्रस भयो र बोटहरु अग्लो हुने भए नतिजा बतास चलेको बेला मा ढलेर भाच्चिएर नोक्सान बढि हुने भयो र मकै भाँच्न समेट असजिलो भयो पहिले डोको बोकेर मकै भाच्दै हिड्ने गाउँलेहरु मकै तान्दै तल झारेर मकै भाँच्नु पर्ने अबस्था आयो। मकै अग्लो हुने हुनाले स्वभाबिक रुपमा त्यहा उम्रिने झार (घाँसहरु) मा पनि फरक आउन थाले। रत्नाउलो, अबिजाले जस्ता झार हरु पनि मासिए। रत्नाउलो, अबिजाले जस्ता झारहरु मासिए पछि  बन्सो, हनुमाने र शित झार हरु आए।

रायो भदौ मा रोपेर बैसाख जेठ मा मात्रै तैयार हुने हुनाले अर्को बर्ष को मकै नै लगाउन पाउने अबस्था रहेन। जस्ले गर्दा बिउहरु मा आत्मनिर्भरता हरायो । अन्यबाली भन्दा २ गुणा फाइदा हुने हुनाले रायो बिउ ले किसानले लाभ लिए भने चक्रप्रणालीमा असर देखियो। यस्ले सामाजिक एकता मा मात्रै होईन घरयासी सम्बन्धहरु पनि कम्जोर भए। पहिले अँशबन्दा मा एक चुई पनि नबोल्ने दाजु-भाई हरु रायो खेती गर्ने जग्गा आफ्नो भागमा पनि हुनु पर्छ भन्न सुरु भयो। नतिजा खोर खोर भाग लगाउने खोर हरु स-साना टुक्रामा अँशबन्दा भए। रायो खेती तैयार हुन लामो समाय लाग्ने हुनाले र चक्र प्रणालीको क्रम सकिदा पशुपालन मा पनि असर गर्यो। मल कम भयो। रासायनिक मल तिर किसान ढल्किए। जस्ले लागत बढ्ने मात्रै होईन माटो को उर्वरशक्ति सन्तुलन लाई समेत काम नलाग्ने बनायो। रायो खेती लामो समाय लाग्ने हुनाले बिचको समायमा मानिस फुर्सदिला भए फुर्सद को समायमा ठाउँ- ठाउँ जाने र त्यहाँ देखेका कुराहरु आफ्नो गाउँमा प्रयोग गर्ने प्रयोगहरु भए नतिजा सँस्कारमा थुप्रै नचाहिने कुराहरु पनि मिसिए। सँस्कार र यौन मा सन्तुलन बिग्रिदा अब गाउँ र समाज समाज रहेन। एउटाले अर्को को गलत जासुसी गर्ने कुराउते कारखाना भयो।

चक्र बाली प्रणाली नासिनु मा रायो मात्रै कारण होईन। बैदेशिक रोजगार को आम्दानी, संयुक्त परिवार बाट एकलपरिवार गएको समाज पनि कारण हुन। संयुक्त परिवार मा रहदा सबै बाली को लागी जनशक्ती घरमै हुन्थे। एकलपरिवार मा गए पछि जनसक्ती को पनि कमि भयो र कृर्षी अब गर्ने चिज होईन भन्ने मानसिकता मानिसमा बढ्न थाल्यो। फेरि रायो को आम्दानी र बैदेशिक रोजगारको आम्दानी को लाभ शेयर बिभाजन को उचित अभ्यास नहुदा परिवार ब्याक्तीमुखी हुन थाले। आमा बाबाले तिमीहरुको पैसा नआए पनि रायो को पैसा छ भन्ने घमण्ड भयो भने छोरा छोरीमा रायोले पुगेकै छ। बा-आमालाई पैसा किन दिनु पर्यो भन्ने गलत संस्कार बस्दै गयो। त्यसमाथी द्वन्द कालको असुरक्षा र सरकारी बिद्यालय को निराजनक नतिजाको कारण बजारमा बच्चा पढाउने होड छिमेक मा चल्यो। अभिभावक र समाज कम्जोर भयो भने परम्पराहरु र सँस्कारको कुराहरु पनि मासिन्छ। कमाउने उमेरका युवाहरु बिदेश र शहर मा भए गाउँ मा रायो ले थामेका बुढापाकाहरु पनि उमेर सँगै काम गर्न नसक्ने हुदै गए। नतिजा गाउँ मा खेती कहिल्यै उठ्न नसक्ने गरि मर्यो।

वाखेत र मकैको थिम्चा (थाक्रा) सम्झना

चक्र-प्राणाली र पर्म चलनले होला वाखेतका तल्लोतोल – उपल्लोटोल, पल्लोगाउँ र अनजे सम्म का हामीले नखनेका र बाली नकाटेका जमिन नै छैन। वाखेतका बाटोमुनि (पल्लोगाउँ) का केहि गह्रा बाहेक म आफै सबैको खेत-बारीमा पर्ममा काम गर्न गएको छु। कस्को कति मकै हुन्छ त्यो बोट बाटै अन्दाज लागि हाल्थे। पाँच खाम्बोमा थिम्चा राख्ने थारामा फुपु, रगरगे र गाउँ मा ३-३ खाल मकै थिम्चा लगाउने भगवती बाजे। त्यति बेला को कति धनि मकैका थिम्चाहरुले नै बताउथे। भदौ सकिए पछि कस्को आँगन मा कति मकै छ हेर्दै समाय जान्थे। हरेको घरमा २ खाम्बे, ३ खाम्बे, ५ खाम्बे सम्मका थाक्राहरु हुन्थे। बारि घटेको छैन जनसँख्या घटेको छैन तर अचेल वाखेत मा यस्तो खाम्बे थिम्चाहरु अचेल २-३ घर मिलेर मुस्किलले गाउँ भरिमा केहि आँगन मा मात्रै देखिन्छ।

मकै को परम्परागत बिउ छनौट गर्ने तरिका

पाँच आख्ला माथी २ घोगा लगाएका मकैलाई बोट मै छिप्पाईन्थे र जम्मा पारेर सम्पुर्णे (जरा देखी तुप्पो सम्म खोया नदेखिने गरि गेडा लागेको घोगाहरु छनौट गर्दथे। घोगाहरु मा दाना पुर्ण र पुष्ट लागेको नै बिउका लागी उपयुक्ता हुन्थे। कुल मकैको बोट सात आख्ला भन्दा अग्लो भएको त्यो बेला राम्रो मानिदैन थे। कारण मकै भित्र घुसुवा (मिस्रित बाली) लगाईन्थे बोट अग्लो भयो भने घुसुवा बाली फस्ताउन पाउदैनथे।

गँहु, जौ, औवा, भित्र केराउ, घुसुवा बाली हुन्थे,। मकै भित्र कोदो र भटमास र भटमास र कोदो मा सिमी, बोडी, लट्टे, फिलिङगे तोरी घुसुवा बाली हुन्थे। केहि ठाउँ मा भने पिडालु रोपिन्थे। झारलाई बारी को बिचमा नै थुप्रो पारेर मल बनाईन्थे र त्यो ठाउँ मा सिलाम, फापर, साग हरु छर्दथे। खेतको बिचमा नै तरकारी पनि भित्र भित्रै तैयार भै रहेका हुन्थे।

यो बल्ग लेख्नु को मतलव अझै पनि हामीले पुरानै परम्परागत खेती गर्नु पर्छ भन्ने होईन। परम्परागत बाली प्रणाली भित्र पनि आत्मनिर्भर बिउ र बिउको जैबिक गुणलाई बचाई राख्ने कौशलता हाम्रा पुर्वजहरुमा थियो। सबै कुरा बिकासे राम्रो हुन्छ भन्ने आधुनिक मान्यता लाई सोच्न बाध्य बनाउने मौलिक चक्र बाली प्रणाली हाम्रो पुर्वजहरु सँग थियो।

वाखेत यो यहि माटो र गाउँ हो जहाँ का मानिसले आफ्नो मेहनतले बेसाहा खोजेर खाएनन तर अचेल चामलको बोरा नकिनि कन यहाँ को भोक मेटिदैन। हामी सँग पैसा त छ तर पुर्खाले हामीलाई छाडेर गएको समाजिक सम्पन्न बैभव , एकता र मर्यादा दिन दिनै खुकुलो हुदै गईरहेको छ। यहाँ अझै पनि बुढा-बुढीहरु खेतीका काम र बुढो गोरुहरु ले खेत जोतिरहेका छन। अरव पुगेका हरुको परिवार बजार झरिरहेका छन। हामी मा यति परनिर्भरता बढि सकेको छ कि बिदेश नगई खान पुग्दैन भन्ने मानसिकता समाज ग्रस्त छ। हामीले खेती र संस्कारलाई सन्तुलन मा लैजान नसक्नु को कारण अचेल अन्न को बिउ मा पनि अरु ठाउँ कै भर पर्नु परिरहेको छ। एक दिन यहाँ का बेथे राँगो बहर नभएर पशुकार्यालय बाट ईन्जेक्शन बिर्य किनेर गाई भैसी, बाख्रालाई कृतिम गर्भधान गराए जस्तै मानिसले सन्तान पनि किनेको सिरिन्जको बिर्य बाट जन्माए भने अचम्म मान्नु पर्ने छैन।

जमानाको कुरा
सम्झनाको स्पर्शः वाखेत मा मकै खेती

स्यानु पाईजा पात्लेखेत – ७ , वाखेत म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s