सम्झनाको स्पर्शहरुः सम्झनामा असार र रोपाई

जमानाको कुरा
सम्झनाको स्पर्शहरुः सम्झनामा असार र रोपाई

(आज को बल्ग मा रोपाई र दफ्फा (परीम, हुद्दा) परम्पराको सम्झनाहरु छन )

बाबा पुस्ता तन्नेरी हुदा नयाँ गाउले (अहिलेको पुलाचौर गाबिस को नयाँ गाउँ) सम्म कै एउटै परिम लाग्नु हुन्थ्यो रे र हाम्रो गाउँ पनि घतान पञ्चायत कै एउटा वडा पर्दथ्यो रे। टाढाको कुरा छाडौ २०३२ साल सम्म नै पात्लेखेत- झि- पाखापानी- कुईनेखानी मँगलेखानी सम्म नै घतान पञ्चायतमा थियो। वाखेत छहराबोट को खोला लाई पुलाको छैउ भनिन्थे र अझै पनि भनिन्छ। नयाँ गाउँले खडकसि थापा वाखेत तिर परीम (आलो पालो खेती र अन्य काम गर्ने) लाग्दा लाग्दै यतै घरजम गरेर वाखेत नै बसोबास गर्नु भयो। अपत्यार लाग्ने तर सत्य थियो नयाँ गाउँले र वाखेते एउटै दफ्फा मा परिम लाग्दथे भन्ने कुरा। ठुलो सल्लेरी बृक्षरोपण गर्दा पात्लेखेत- झि- पाखापानी- कुईनेखानी मँगलेखानी सम्म कै मानिसले झारा (श्रमदान) तिरेको भन्नु हुन्छ हाम्रै बाबा पुस्ता र दिदी पुस्ताको पालो मा वाखेत मा ४ बडा को एउटै दफ्फा लाग्दथे।

भुसपात छापेको सेगु, गुईठा मा सल्काएको आगो

युग कै कथा जस्तो लाग्छ सम्झनाका यि स्पर्शहरु , भुसपात (जँगली रुख को बोक्राको लेयरहरुले) छापेको सेगु (घुम), कसैले माया को पातले छापेको सेगु ओड्थे पानी पर्दा। त्यो बेला प्लास्टिक पुगेकै थिएन गाउँ मा भन्दा पनि हुन्छ। झुलो , चकमक र झटक ले अबेला हुन्छ भनेर चिलिम (सुर्ती, भुसाहा) सल्काउन अधिल्लो बर्ष मँगसीरमा भकारी को बिर्को लगाएका गुईठाहरु मा आगो सल्काएर पानी नपर्ने ठाउँ मा राखिन्थे र दिन भरि त्यहि गुईठाको आगोमा सुर्ति, सिगरेट सल्काईन्थे। असार को खर्च पार्न को लागी २-३ महिना देखि ढिकी जातो गर्दथे र बर्षा भरि पुग्ने खर्च आँटो,पिठो, चामल बनाउथे। रोपाहा लाई अर्नि (खाजा) बनाउने गँहु को पिठो चाही घट्ट हरुमा पिसिन्थे। खोला नबढेर ढिलो भयो भने गहँ को पिठो पिस्नु लाई कोत्रबाङ सम्म र तोरी को तेल बनाउन लाई भारी सम्म हिडेर लुँङदी लस्ती सम्म पुग्दथे। नजिक मा कुतानी पिसानी मिल थिएन। पछि मात्रै तोरी पानी र पात्लेखेत मै मिल हरु स्थापना भएर र केहि बर्ष पछि हाम्रै गाउँ मै मिल आईपुग्यो।

हाम्रो गाउँ को जनसँख्या पनि निक्कै छिट्टै बढ्यो। लाहुर को पैसाहरु ले धानखेतका साँधहरु फरालिलो हुदै गए। कुनै समाय मा एउटै मात्रै दफ्फाले जेष्ठको अन्तिम हप्ता देखी साउन को पन्ध्र सम्ममा सक्ने वाखेत का खेतहरु बिस्तारै दिदी हरु पुस्ताको पालोमा पल्लो गाउँ र अनजे (८, ९ वडा) को एउटा र तल्लो गाउँ र उपल्लो गाउँ (६,७ वडा) को फरक फरक २ दफ्फा लाग्ने भै सकेका थिए। दाईहरुको बगाल को पालो मा आई पुग्दा सम्म चारै वडा को आफ्नै आफ्नै दफ्फा लाग्ने भै सकेका थिए। त्यो बेला २ महिना लाग्ने रोपाई एकै महिना मा सकिने भएका थिए। हाम्रो पालो आउदा सम्म ७ वडा मा मात्रै २ दफ्फा र ६ वडा मा २ दफ्फा लाग्ने भै सकेका थिए। भने भुसाहा चिलिम बाट सिगरेट को खिल्लीमा पुगी सकेको थिए दिदी दाई पुस्ता सम्म आगो गुईठा मै जगेडा राखिन्थे। चिलिम बासा बिस्तारै हराएर ठेट्ना चुरोट सल्काउने कुल्पीहरु बजैको झोली मा अटाईसकेका थिए।

दिउँसो को अर्नी, बेलुकाको खाना बिहान को खाना सबै राती नै पाक्थे

हरेक दिन पालो पालो गरेर ठिटा-तरुनीहरु ले ताईको चेप्टे रोती (पुरी) बनाउथे कसैले पिठो को गोलो बनाउने कसैले बेल्ने, कसैले कराईमा हाल्ने फर्काउने गरेर १०-१२ बजे भित्र सम्म मा ३०-४० जनालाई पुग्ने पुरी बनाई सकेका हुन्थे भने कतिले आलु टुक्रा पारिरहेका हुन्थे। पुरी सँग खाने चतनी को लागी, निक्कै रमाईलो हुन्थ्यो हरेक दिन। कतिले बर्षा भरिमा माया पिरती छिप्पाई सक्थे र रोपेको धान काटेर मँगसीरमा बिबहा पनि गर्दथे। अचम्म को कुरा हलि र बाउँसेहरुलाई बिहान बेलुका को खाना रोपाई हुने घरमा नै खुवाईन्थे। बिहान ७ बजे खेत मा पुगी सकेका हुन्थे कतिले बिहान खाने र भोली बेलुका खाने भात त्यहि राती बाह्र बजे पछि पकाएर तैयारी राख्दथे। अलग अलग खडकुलो मा पकाएका भातहरु लाई पाके पछि राती ओढ्नलाई बनाईएका घर बना सिरकहरु जस्लाई भगता भनिन्थे त्यस्ले छोपेर राखे पछि राती पकाएको भात भोली को बेलुका सम्म पनि तातो नै हुन्थे। दफ्फा हरु ३० जना को संख्या मा हुने भए पनि नानी हेरालो, धरालो हरु गोठला खेतला हरु मिलाएर सबैले ४० जना जतिलाई पुग्ने खाजा बनाउथे। अर्नि खाने बेला मा घर-घर बाट नानीका धरालेहरु खेत सम्म मा दुधे नानी बोकेर दुध खुवाउन लैजान्थे र अर्नि खाएर फेरि नानी फर्काएर घर आउदथे। दुध खान छाडेका ४-६ बर्षका बच्चाहरु भने रोपाई गर्ने खेत तिर नै पानी मा खेलि रहेका हुन्थे। कमिला ले टोकेर दिन कै ३-४ जना बच्चाहरु पुरै दफ्फा तर्साउने गरि रुन्थे फेरि बिर्सन्थे र फेरी भोलि पल्ट त्यसरी नै आमा पछि लागेर खेतहरुमा पुग्दथे। अलि ठुला बच्चाहरुले बिउ ओसार्ने, आलीमा भट्ट रोप्ने, खेतलालाई तिर्खा लाग्दा पानी खुवाउने जस्ता काम हरु गर्दथे। आलु रोपेको खेत मा खन्दा बिरिएका आलुहरु टिप्ने। छुटेका सिमीहरु टिप्ने गर्दथे बच्चाहरुले।

अर्नी खाने

दिन को खाजा लाई अर्नि भनिन्थे। त्यो भन्दा पहिले खाने अर्निलाई छक्काले अर्नि भनिन्थे। अर्निमा हलि, बाउसे ले दाल भात खाने गर्दथे। कतिले रक्सी पनि लगिदिएका हुन्थे। रोपाहा लाई भने पुरी को अर्नि दिईन्थे। कप्पाको (पात टिप्दा दूध निस्कने र फल लाग्ने रुखको पात, नेभारो) पात या फूलतरुल को पातमा आलु को चाना फ्राई गरेको चट्नी र ४-५ ओटा को भागले चेप्टे रोटी (पुरी) खाजा दिईन्थे। आमाहरुले बच्चालाई दुध खुवाउदै खाजा खाई रहेका हुन्थे। कति आमा हरुले आफुले २-३ वटा मात्रै खाएर २ वटा जति घरमा रहेका बच्चाहरुलाई बचाई ल्याईदिन्थे। घरमा बच्चाहरु कतिबेला आमा आउनु हुन्छ भनेर पर्खि बसेका हुन्थे दफ्फा बाट ल्याएको रोटी बाँडेर खान्थे। मिठो, नमिठो जस्तो सुकै होस बराबर बाँडेर खाने किसिमका दाजुभाई हरु हुन्थे। बच्चाले आलु को चटनी खान खोज्दथे कहिले कहि पिरो हुने गर्दथे आमाहरुले आलुलाई चुसेर पिरो जति निले पछि भित्रको नपिरो चटनी खुवाउदथे। त्यो बेला बच्चाहरुलाई आमा-बाबा, दिदी दाजुहरुले नै खाजा चपाएर खुवाउने चलन थियो। जस्लाई न्याम भनिन्थे। मुख नलागेका बच्चाहरु पनि न्याम न्याम भनेर हेरालो ले आवाज निकाल्यो भने अव खाने बेला भयो भनेर बुझ्दथे। आफै चपाउन सक्ने उमेर पुगे भने त्यहि बच्चाले सानो मा आफुले खाएर हुर्केको न्याम लाई छि… भन्ने हुन्थे। अहिले जस्तो हर्लिक्स,के बिटा जस्ता खाने कुरा त्यो बेला थिएनन। निक्कै पछि सर्वोउत्तम पिठो बनाएर खुवाउने चलन आएको थियो त्यो सबैको लागी सम्भव थिएन। ९९ प्रतिशत बच्चाहरु यसरी नै न्याम खाएर हुर्केका हुन्थे। त्यसैले होला आधा घाँटी उगालेर खाएर हुर्काएको हो तिमीहरुलाई भनेर बुढा पाका भन्थे।

असारे गीत
दिन भरि रोपाहा हरु रोपेको रोपै गर्दथे। हरेक पाता का खेतला हरुले कति बेला एउटै ताल मा एउटै गीत गाई रहेका हुन्थे कति बेला कति बेला अलग अलग ताल का गीतहरु पनि गाउँथे। “असारे मास को दबदबे हिलो हिलो छि मलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ बिसे रिण लाग्यो” बाट सुरु हुने आसारे गीत को लय हरु फेरिदै जान्थे। सुर्के दाली फुर्के घाँस कातौ लाई जोवान सातौला, बर्खा लाग्यो सललल सल्लेरी करायो, मायाँ सँग सललल भेट हुन हरायो, धानको बाला मकै को चमारे भर्ति भएनि माया त नमारे, गयो महिना जेठ नचिठी नसल्लाह कहिले होला भेट। आफ्नै आफ्नै रमाईलो आफ्नै आफ्नै मनका बिरहहरु हरेक दिन हरेक खेत को गह्राहरुमा यसरी नै गुन्जिन्थे। दिन भरिको काम को थकान बिर्साउने गरी, मन भरिको माया पोखिने गरि।

खाला गह्रा भर्ने, पुतली भर्ने

हरेक खेत को आफ्नै खाला गह्रा हुन्थे जहा खेत भरिको दाई को कुन्यु वनाईन्थे र त्यहि दाइ गरेर धान घर भित्राईन्थे। खला गह्रा मा आईपुगेक पछि पुतली भरिन्थे। त्यो गह्रामा स्पेशल किसिमले धान रोपिन्थे जुन पुतली जस्तै देखिन्थे। धान को बिउहरु पुतली जस्तै आकृति बन्ने गरि रोपिन्थे बिचमा एउटा सानो मुठा बिउ सँगै गाडिन्थे र बिउ को टुप्पीमा माटो राखिन्थे त्यस्लाई भकारी भर्ने भनिन्थे। यसरी भकारी भर्दा घरमुली लाई खाला गह्रामा पुतली भरेको ठाउँ मा बोलाईन्थे हिलो को टिका र धान बिउ कै फूल लगाई दिए पछि घरमुलीले गच्चै अनुसारको दाम दान गर्दथे। त्यही दान बर्षा भरिमा सँगालेर दफ्फा चुक्ने (रोपाई सकिको) दिनको भोलि पल्ट दफ्फा का सबै सदस्यले दफ्फा खाने, हिलो फाल्ने, मैजारो गर्ने ठाउँ बिशेष फरक फरक नामले यो दिन पार्टि गर्दथे। केटा समुहले घर घर बाट मा दूध जम्म गर्ने र चामल उठाउने केटी समुहले मकै को ठेला पारेर सेल रोटी बनाउने गर्दथै। त्यो दिन बिहानै देखि ठुलै चलपल हुन्थे। खिर पकाउने, सेलरोटी पोल्ने, भात पकाउने, त्यहाँ खाने देखि लिएर घर लैजाने सम्म को खिर बनाउथे। त्यहा खाने खिरहरु जस्ले जति खान सक्छ खान्थे भने घरमा लैजान को लागी एउटै दप्का, पेला, माना जस्ता भाँडो बाट बराबर पर्ने गरी भाग लगाउथे र गोलो गोलो डल्लो पारेर पात पात माथी राखिएका हुन्थे। खान पिन सकिए पछि घर जाने बेला मा सबैले आफ्नो आफ्नो भाग लगेर जान्थे र घरका बाँकी सदस्यहरुलाई पनि खिर रोटी खुवाउथे।

दफ्फा टिप्ने (पर्वमा मासु खान लाई पैसामा सामुहिक दफ्फा जाने)

गाउँ मा कतिको दफ्फा र परीम ले सकिने भन्दा बढि खेत हुन्थे। उनिहरुले दफ्फा किन्ने गर्दथे। जस्लाई दफ्फा टिप्ने भनिन्थे। कस्लाई कति चाहिएको र कति जना कसरी मिलाउने भन्ने दफ्फाका नाईके ले गर्दथे। कतिपय घरका २-३ जना सदस्य छन र दफ्फा लागेका छन भने उनिहरुको पालो पनि बेचिन सक्थे। त्यो मिलाउने जिम्मा नाईकेको हुन्थे। कस्को कहिले पालो पर्ने यो सबै नाईकेको काम हुन्थे तर यो माथी बाट तल तिर सर्दै जाने हुनाले बिबाद हुदैन थे। कुलो को हिसाबले पालो आउदथ्यो। कस्ले कति दिन दफ्फा टिपेको छ त्यो हिसाव लेखेरै राखिन्थै। बढि दिन भएको लाई अर्को पालो मा कम गर्ने र कम भएको लाई अर्को पालो मा बढि जना आएर बराबर गर्ने काम नाईके ले गर्दथे। यसरी दफ्फा टिपेका पैसाले हामीले हरेलो मेला मा मासु खाने गर्दथ्यौ भने तिज मनाउने ठाउँहरुमा तिज मा खर्च गर्ने गर्दथे। कम भएको ले पैसा उठाउने र बढि भएको ले पैसा लैजाने गरिन्थे कतिपय अबस्था मा कम हुनेले धेरै हुने को पालो पैचो मागेर परीम नै तिर्ने पनि गरिन्थे। त्यो बेला को मानिसहरु आत्मनिर्भर थिए। सबै काम र ब्यबाहर आफै काम गरेर चलाउथे।

घराप लाग्ने (एउटाको काम सक्दै क्रमश अर्को को काम सक्ने)

बिस्तारै जनसँख्या बढ्यो । दाजुभाई भिन्न भए। जग्गाहरु टुक्रियो ठुलो किसिम को दफ्फा पुरै नचाहिने भयो। त्यति बेला घराप भन्ने दफ्फा को जन्म भयो घराप मा एउटा को मेलो सकेर अर्कोको मेलो सक्ने गरि काम गरिन्थे। जस्तै आज सकिएन भने भोलि पनि उसैको मा गयो र छिटो नै सकियो भने फेरि नजिकै को अर्को को मा गएर बाँकी दिन को काम गर्यो यसै गरी रोपाई सक्ने चलन लाई घराप भनिन्थे। अचेलका रोपाई हरु घराप जस्तै नै हुन।

हरेलो मेला वाखेत र मासु को जोहो

रोपाई सके पछि भदौ को पहिलो मँगलबार वाखेत मा हरेलो परम्परा देखि नै लाग्दछ। अरु ठाउँ मा हरेलो मेला साउन को अन्तिम मँगलबार पर्दछ भने हाम्रो मा भदौ को पहिलो मँगलबार यसो हुनु मा वाखेत को रोपाई त्यो बेला पछि सकिनु नै हो। नुन थला देखि देउती सारा सम्म को रोपाई सक्नु साच्चिकै त्यो बेला धेरै समाय लाग्दथ्यो। त्यति मात्रै नभएर हरेलो मेला रोपाई को काम सकिए पछि आफन्त भेटघाट को उत्सव पनि हो। एक हप्ता अगाडी सबै झी का आफन्तहरुको मा गएर खाने बस्ने गर्ने र एक हप्ता पछि वाखेत मा बोलाउने कारण ले पनि एक हप्ताको फरकमा हरेलो परेको हो। हरेलो समग्रमा खेती पाती पूजा नै हो। पूजा कै बाहाना मा सहि यो आफन्त भेटधाटको पर्व हो।
दफ्फा टिपेर बनाएको पैसाले मासुको लागी आवश्यक राँगा, भैसी किनिन्थे हरेलो आउनु भन्दा ७-१० दिन पहिले नै यो बन्दोबस्तो भै सक्थे र यसलाई पाल्न को लागी पनि दिन को २ जनाले बिहान र बेलुका गरी १-१ भारी घाँस पालै पालो खुवाउने पालो लाग्दथे। सबै काम को लागी सधै सबैको आवश्यकता पर्ने हुनाले नै त्यो बेलाको समाज गाह्रो साँघुरोमा एकजुत हुन सक्दथ्यो र जस्तो सुकै अप्ठ्यारो काम पनि सजिलै गर्न सकिन्थे। त्यसै संस्कार को असर होला या त्यहि गुण सरेको ले होला परम्पराको कुरा गर्दा, (बिबहा,छेवर, मृत्यु) सँस्कार हरुमा अझै पनि सबै एकजुट, एक स्वरमा सहमत हुन्छन। बिना बिबाद का यि सँस्कारहरु चलाउछन।

परीम र दफ्फा चलन हुदा कसैको पनि खेत बाँझो बस्दैनथे। कारण पालो पालो सबैले खेत मा काम गरेर रोपाई गर्दथे। बिस्तारै पैसा बढि हुन थाल्यो मानिसले दफ्फा लाग्नु को सातो दफ्फा किनेर रोपाई गर्ने सुबिधा खोज्न थाले। बिस्तारै बिस्तारै सबैले यसो गर्न थाले पछि हेर्दा हेर्दै कयौ खेतहरु बाँझो बस्न थाले। समाज का कतिपय कुराहरु पनि बिस्तारै बिचलन मा आउन थाले। जस्तै कुनै बेला पैसा नहुने गरिव ले पनि दफ्फा टिपेर मासु खान सक्थे। खेत रोप्न सक्थे। बिस्तारै यो भएन पैसा हुने र पैसा नहुने को अलग अलग किसिम को पर्व हुन थाले। यस्ले गर्दा सँस्कारिक बिचलन हरु पनि भित्रिए। त्यहि कुरा शिक्षा मा पनि लागु भयो। पैसा हुने हरु ले निजि बिद्यालयमा पढाउन शुरु गरे, नहुने हरु को लागी मात्रै सरकारी(सामुदायिक) बिद्यालय हो भन्ने जस्तो भयो। त्यस माथी मानिसको मानसिकता नै बस्यो दुई दर्जा का नागरिक समाजले बनायो। सुबिधा पाउनु सबैको मौलिक अधिकार हो सक्ने ले राम्रो मा पढाउनु नराम्रो होईन तर सरकारी भने पछि नपढाए पनि हुन्छ भन्ने मानसिकता हाबी हुदा देशको लागत र गरिव बिद्यार्थीको मानसिकता मा ठुलो नोक्शान भयो। त्यो माथी निति निर्माताहरुले राहत कोटा का टिचर बनाएर टिचर हरु को पनि दुई दर्जा बनायो। यस्को क्षती अपुरणिय छ। बिभेद ले शान्ती ल्याउदैन। अशान्ती ले देश बिकास हुदैन।

असार र रोपाई बाट नै सिक्न सक्थे निति निर्माता हरुले मिलि जुलि काम गर्दा कसैको पनि खेत बाँझो थिएन। भन्नु को अर्थ अझै पनि त्यसरी नै खेती गर्नु पर्छ भन्ने होईन। त्यो बेला को जस्तै आत्मनिर्भर मानिस हरु हुनु पर्छ र आधुनिक प्रबिधिलाई जोडेर अझै बलियो समाज निर्माण गर्नु पर्छ। संस्कार मा बिचलन आउनु को मुख्य जिम्मेवार हामी सबै बराबर हौ।

-स्यानु पाईजा, पात्लेखेत-७, वाखेत, म्याग्दी
(जमानाको कुरा भित्र बाट
सम्झनाको स्पर्शहरुः सम्झनामा असार र रोपाई)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s